सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको सिटी स्क्यान सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन। वैशाख २१ गते उद्घाटन गरिएको सेवा सञ्चालनका लागि आवश्यक दक्ष प्राविधिक नहुँदा समस्या भएको हो।
अस्पताल प्रशासनका अनुसार सेवा सञ्चालनका लागि कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र एक जना सहयोगी आवश्यक छ। अस्पताल प्रमुख डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो।
प्रदेशभरि नै दक्ष रेडियोलोजिस्टको अभाव रहेकाले सेवा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो लाग्न सकेको छैन। १२ करोड रुपैयाँ लागतमा खरिद गरिएको सिटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा स्थानीयवासी निराश बनेका छन्।