कास्की । कास्कीमा सञ्चालनमा रहेका सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन यस्तो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जीपीएस जडान नगरेका तथा सञ्चालन अनुमति नलिई चलिरहेका एम्बुलेन्सलाई प्रक्रिया पूरा गर्न प्रशासनले निर्देशन दिनेछ।
यससँगै एम्बुलेन्सभित्र तोकिएको भाडादर अनिवार्य टाँस्नुपर्ने, आम्दानी–खर्चको विवरण नियमित अद्यावधिक गर्नुपर्ने र चालकले निर्देशिकाअनुसारको पोशाक लगाउनुपर्ने व्यवस्था पनि कडाइका साथ लागू गरिने भएको छ। वर्षायामलाई लक्षित गर्दै सबै एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णयसमेत गरिएको छ।