काठमाडौं । संघीय सरकारको मन्त्रालय पुनर्संरचनासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरिएको छ। मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेसँगै स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नाम दिइएको हो।
राष्ट्रपति कार्यालयले बिहीबार सार्वजनिक गरेको नयाँ कार्यविभाजन सूचीअनुसार यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिरहेकी मन्त्री निशा मेहता अब स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारीमा रहनेछिन्।
नयाँ संरचनाअनुसार मन्त्रालयको कार्यक्षेत्र विस्तार गरिएको छ। अब स्वास्थ्य सेवा व्यवस्थापनसँगै खाद्य स्वच्छता, सरसफाइ मापदण्ड कार्यान्वयन, खाद्यजन्य रोग नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षासम्बन्धी विषयहरू पनि मन्त्रालयअन्तर्गत रहनेछन्। सरकारले स्वास्थ्य र खाद्य स्वच्छतालाई एउटै संरचनाभित्र समेट्दा जनस्वास्थ्यसम्बन्धी चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सहज हुने अपेक्षा गरेको छ।
यसअघि प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक प्रारम्भिक सूचीमा मन्त्रालयको नाम ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ उल्लेख गरिएको थियो। तर राष्ट्रपति कार्यालयबाट जारी अन्तिम सूचनामा ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ कायम गरिएको छ। सरकारको यो निर्णयलाई स्वास्थ्य प्रशासनलाई थप प्रभावकारी बनाउने तथा खाद्यजन्य संक्रमण नियन्त्रणमा केन्द्रित नीतिगत कदमका रूपमा हेरिएको छ।