काठमाडौँ । पछिल्लो समय क्रुज जहाजमा देखिएको हान्टा भाइरस संक्रमणपछि विश्वभर चासो बढेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संक्रमणबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ भने केही संक्रमित उपचारमा छन्।
यो भाइरस मुख्यतः मुसा तथा मुसा प्रजातिका जनावरको दिसा, पिसाब र र्यालबाट सर्छ। यसले फोक्सो र मिर्गौलामा गम्भीर असर पार्न सक्छ। संक्रमितमा ज्वरो, शरीर दुख्ने, कमजोरी, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसबाट मानिसमा सर्ने सम्भावना अत्यन्त दुर्लभ भए पनि ‘एन्डिज’ प्रजातिको हान्टा भाइरसबाट सीमित अवस्थामा संक्रमण फैलिन सक्छ।
नेपालमा हालसम्म हान्टा भाइरस संक्रमण पुष्टि भएको छैन। स्वास्थ्य विज्ञहरूले मुसा भएको स्थानमा सरसफाइ गर्दा सावधानी अपनाउन, मास्क–पन्जा प्रयोग गर्न तथा शंकास्पद लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन्।