काठमाडौं । काठमाडौंमा सुरु भएको तीनदिने चिकित्सा तथा स्वास्थ्य सेवा कानुन सम्मेलनमा स्वास्थ्य क्षेत्रमा स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या बढिरहेको भन्दै सामाजिक न्याय सुनिश्चित गर्ने कानुन बनाउनुपर्नेमा जोड दिइएको छ।
सम्मेलनमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा सुनिश्चित हुने कानुन आवश्यक रहेको बताइन्। सहभागीहरूले स्वास्थ्य सेवा, मेडिकल इन्सुरेन्स, स्वास्थ्यकर्मीको सुरक्षा, औषधि वितरण र ग्रामीण स्वास्थ्य पहुँचजस्ता विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखे।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। अनिलविक्रम कार्कीले चिकित्सकले डर र त्रासबिनै सेवा दिन पाउने वातावरण बनाउन नयाँ कानुन आवश्यक रहेको बताए। सम्मेलनमा सरल भाषामा कानुन मस्यौदा, प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माण तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव संकलन भइरहेको आयोजकले जनाएको छ।