काठमाडौं । नेपालले विश्व स्वास्थ्य कूटनीतिमा ऐतिहासिक सफलता हासिल गर्दै विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। यो उपलब्धिले अन्तर्राष्ट्रिय स्वास्थ्य मञ्चमा नेपालको उपस्थितिलाई थप सशक्त बनाएको छ।
स्विट्जरल्यान्डको जेनेभा स्थित पाले डे नेसन्समा सोमबार सुरु भएको महासभाको उद्घाटन सत्रमा नेपाल उपाध्यक्षमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन्। महासभा मे १८ देखि २३ सम्म सञ्चालन हुनेछ, जहाँ विश्वका १९० भन्दा बढी सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी छन्।
मन्त्रालयका अनुसार नेपालका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार जेनेभा पुगेको थियो। सम्बोधनका क्रममा नेपालले सार्वभौमिक स्वास्थ्य पहुँच, महामारी तयारी, जलवायु परिवर्तनको स्वास्थ्य प्रभाव तथा विकासशील राष्ट्रका स्वास्थ्य चुनौतीबारे आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ।
यस वर्षको महासभामा डोमिनिकन रिपब्लिकका स्वास्थ्य मन्त्री डा. भिक्टर एलियास अतल्लाह अध्यक्षमा निर्वाचित भएका छन् भने नेपालसहित लिबिया, माली, पोल्यान्ड र पपुवा न्यू गिनी उपाध्यक्ष बनेका छन्।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले नेपालको यो निर्वाचनलाई विश्व स्वास्थ्य नीतिनिर्माण तहमा प्रभावकारी भूमिका खेल्ने अवसरका रूपमा व्याख्या गरेका छन्। विशेषगरी दक्षिण एसियाली क्षेत्रका स्वास्थ्य चुनौती, महामारी पूर्वतयारी, मातृ–शिशु स्वास्थ्य तथा जलवायुजन्य स्वास्थ्य जोखिमका मुद्दामा नेपालको आवाज अब अझ प्रभावकारी रूपमा उठ्ने विश्वास गरिएको छ।