काठमाडौँ । चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले बजारमा आयोडिनविहीन नुनको खुला बिक्रीवितरण भइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आयोडिनयुक्त नुनको प्रयोग अनिवार्य रहे पनि खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन नेपालका बजारमा सहजै बिक्री भइरहेको उनीहरूको भनाइ छ।
राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित कार्यक्रममा बालरोग विशेषज्ञ डा। टङ्क बह्राराकोटीले आयोडिनको कमीले विशेषगरी बालबालिका र गर्भवतीमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै बजार अनुगमन कडा बनाउन आग्रह गरे। उनका अनुसार आयोडिनको कमीले गलगाँड, थाइराइड समस्या, मानसिक तथा शारीरिक विकासमा अवरोध ल्याउन सक्छ। चिकित्सकहरूले उपभोक्तालाई ‘दुई बालबालिका’ चिन्ह भएको आयोडिनयुक्त नुन मात्र प्रयोग गर्न आग्रह गरेका छन्।
नेपालले विगतमा आयोडिनयुक्त नुनको प्रभावकारी वितरणमार्फत गलगाँड नियन्त्रणमा ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गर्दै विज्ञहरूले आयोडिनविहीन नुनको बढ्दो प्रयोगले पुनः जनस्वास्थ्य जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।