कैलाली । कैलालीको कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम ‘पेन डी’लाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन्।
बाढी तथा डुबानको उच्च जोखिम रहेका यी पालिकामा मधुमेह, उच्च रक्तचाप, मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीलाई विपद्का समयमा पनि निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागू गर्न लागिएको हो।
स्थानीय जनप्रतिनिधिले नसर्ने रोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। कृत्रिम विपद् अभ्यासमार्फत बिरामीको तथ्यांक अद्यावधिक, औषधि व्यवस्थापन तथा सुरक्षित स्थानमा स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा विपद्का बेला नसर्ने रोगका बिरामीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न स्थानीय तहको तयारी सुदृढ गरिएको बताइएको छ। स्वास्थ्य विज्ञहरूले विपद्का समयमा नसर्ने रोगका बिरामीको उपचार अवरुद्ध हुँदा जटिलता बढ्न सक्ने भएकाले स्थानीय तहमा पूर्वतयारी अपरिहार्य रहेको बताएका छन्।