काठमाडौँ । नेपालमा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै जटिल रोगको उपचार, औषधि उत्पादन तथा रोग नियन्त्रण अभियानमा उल्लेखनीय प्रगति भएको आर्थिक सर्वेक्षण २०८२/०८३ ले देखाएको छ ।
सर्वेक्षणअनुसार नेपालमै मृगौला र कलेजो प्रत्यारोपण सेवा प्रभावकारी रूपमा सञ्चालन हुँदै गएको छ । २०८२ फागुनसम्म २९५ जनाको मृगौला तथा १५ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गरिएको छ ।
औषधि उत्पादनतर्फ पनि स्वदेशी उद्योगको हिस्सा बढ्दै गएको देखिएको छ । हालसम्म दर्ता भएका २२ हजार ३ सय ५ ब्राण्डका औषधिमध्ये १३ हजार ५ सय ९४ वटा स्वदेशी ब्राण्डका रहेका छन् । यसले नेपाली औषधि उद्योगको क्षमता विस्तार हुँदै गएको संकेत गरेको छ ।
रोग नियन्त्रण तथा जनस्वास्थ्य कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । देशभर १४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सञ्चालनमा रहेको छ भने २७ हजार ५ सय २६ जना एचआइभी सङ्क्रमितले नियमित एन्टिरेट्रोभाइरल उपचार सेवा लिइरहेका छन् ।
सरकारले स्वास्थ्य पूर्वाधार विस्तार, विशेषज्ञ सेवा वृद्धि तथा जनस्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।