चितवन । भरतपुरस्थित जायोडिन बायोटेक उद्योगले नेपाली जडीबुटीबाट क्यान्सर उपचारमा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन सुरु गरेको छ । उद्योगले लौठसल्लो प्रशोधन गरेर तयार गरिएको ‘प्याक्लिट्याक्सल’ र ‘डोसीट्याक्सल’ कच्चा पदार्थ भारत निर्यातसमेत थालेको जनाएको छ ।
उद्योगका अनुसार अत्याधुनिक प्रविधिमार्फत उत्पादन गरिएको कच्चा पदार्थको पहिलो खेप भारत पठाइसकिएको छ । स्वदेशी लगानीमा करिब रु एक अर्ब ३० करोडको लगानीमा सञ्चालनमा आएको उद्योगले आगामी दिनमा पाकिस्तान, बङ्गलादेशलगायतका मुलुकमा समेत निर्यात विस्तार गर्ने लक्ष्य लिएको छ ।
नेपालका विभिन्न जिल्लामा पाइने लौठसल्लोबाट क्यान्सर औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न सकिने भन्दै उद्योगले भविष्यमा नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।