काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रमा १ सय १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्। बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ र स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ। साथै, देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ।
दूरदराजका क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिममा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ भने संघीय स्तरमा विशिष्टीकृत जलन उपचार केन्द्र स्थापना गरिने बजेटमा उल्लेख छ। मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा र ट्रमा सेन्टर सञ्चालन गरिने पनि घोषणा गरिएको छ। त्यस्तै, आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई बीमाको दायरामा ल्याउने र बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ।