काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै निःशुल्क शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्ने तयारी भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले संविधानले सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । सीमित स्रोतसाधनका बाबजुद विपन्न नागरिकलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउने नीति अघि बढाइएको उनको भनाइ थियो ।
उनले काठमाडौँ महानगरपालिकामा प्रमुख रहँदा निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति व्यवस्था लागू गरिएको उदाहरण प्रस्तुत गर्दै शिक्षा र स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्नु नै समाजवादको वास्तविक अभ्यास भएको बताए । प्रधानमन्त्री शाहले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा र नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकार लागिपरेको उल्लेख गरे ।