काठमाडौँ । अफ्रिकी मुलुकहरूमा इबोला भाइरस सङ्क्रमण फैलिन थालेपछि नेपालले रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रमुख सीमा नाकामा निगरानी बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार सङ्क्रमित देशबाट नेपाल भित्रिन सक्ने यात्रुको स्वास्थ्य परीक्षण, निगरानी तथा शङ्कास्पद अवस्थाको व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको छ। स्वास्थ्यकर्मीलाई इबोला पहिचान, उपचार व्यवस्थापन र सङ्क्रमण नियन्त्रणका विषयमा अभिमुखीकरणसमेत सञ्चालन गरिएको छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले हाल अफ्रिकाको प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था (PHEIC) घोषणा गरेको छ। हालको प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरससँग सम्बन्धित रहेको र यसको नियन्त्रणका लागि विभिन्न देशहरूले तयारी तीव्र बनाएका छन्।
नेपालमा हालसम्म इबोला सङ्क्रमणको कुनै पनि पुष्टि नभएको मन्त्रालयले जनाएको छ। अचानक उच्च ज्वरो, अत्यधिक कमजोरी, वान्ता, पखाला, शरीर दुख्ने तथा रक्तस्रावजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरूले आग्रह गरेका छन्।