वीरगञ्ज । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी अस्पतालमा उपलब्ध हुँदै आएको सेवा स्थगित भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। सरकारले जेठ १६ गतेदेखि आकस्मिकबाहेकका बीमा सेवा निजी अस्पतालमार्फत बन्द गरेपछि बीमित बिरामीहरू सरकारी अस्पतालतर्फ केन्द्रित हुन थालेका हुन्।
अस्पतालका अनुसार दैनिक ओपीडी, भर्ना र आकस्मिक सेवामा बिरामीको संख्या बढ्दै जाँदा सीमित जनशक्ति, शय्या र स्रोतसाधन व्यवस्थापनमा चुनौती थपिएको छ। विशेषगरी बीमा सेवाका बिरामी बढेपछि उपचारका लागि लामो समय पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।
बिरामी र आफन्तहरूले अस्पतालमा औषधिको अभावसमेत रहेको गुनासो गरेका छन्। अस्पतालभित्रको फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा धेरै बिरामी बाहिरबाट औषधि खरिद गर्न बाध्य भएका छन्। शय्या अभावका कारण एउटा बेड खाली हुनासाथ अर्को बिरामी भर्नाका लागि प्रतीक्षामा बस्नुपर्ने अवस्था देखिएको छ।
स्वास्थ्य बीमा सेवामा गरिएको नयाँ व्यवस्थाले सरकारी अस्पतालमा सेवा प्रवाह र व्यवस्थापनमाथि थप दबाब बढाएको सरोकारवालाहरूले बताएका छन्।