काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको ६९औँ चिकित्सक दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन विदेशी कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीको तुलनामा उल्लेखनीय रूपमा राम्रो रहेको देखाएको छ।
काउन्सिलका अनुसार परीक्षामा सहभागी दुई हजार २६३ जनामध्ये एक हजार ५१५ जना उत्तीर्ण भएका छन्। एमबिबिएसतर्फ स्वदेशी मेडिकल कलेजबाट सहभागी एक हजार २५४ विद्यार्थीमध्ये ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएका छन् भने विदेशमा अध्ययन गरेका धेरै विद्यार्थीको नतिजा अपेक्षाकृत कमजोर देखिएको छ। भारतमा अध्ययन गरेका नेपाली विद्यार्थीमध्ये ४२ दशमलव ३१ प्रतिशत र चीनमा अध्ययन गरेका १५ दशमलव ०४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
यस वर्षको परीक्षामा चितवन मेडिकल कलेज ९३ दशमलव १० प्रतिशत नतिजासहित उत्कृष्ट बनेको छ। त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
काउन्सिलले विदेशबाट अध्ययन गरी आएका विद्यार्थीको कमजोर नतिजाको कारण भाषागत समस्या, पाठ्यक्रमको भिन्नता र शैक्षिक वातावरणलाई मानेको छ। साथै आगामी दिनमा सैद्धान्तिकसँगै व्यावहारिक परीक्षा पनि समावेश गर्ने तयारी भइरहेको जनाएको छ।