काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग समन्वय गरी नागरिकलाई सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ प्रदान गर्न सकिने बताए।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ‘आयुर्वेद, योग तथा ध्यानमार्फत स्वास्थ्य’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी उद्घाटन गर्दै उनले योगले जीवनशैलीजन्य रोग रोकथाम तथा ध्यानले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
उपराष्ट्रपतिले आयुर्वेद स्थानीय जडीबुटी र परम्परागत ज्ञानमा आधारित प्रभावकारी उपचार पद्धति भएको भन्दै रोगको पहिचान, रोकथाम र उपचारमा यसको योगदान महत्वपूर्ण रहेको बताए। संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्न आधुनिक चिकित्सासँगै आयुर्वेद, योग र ध्यानको प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ थियो।
विश्वव्यापी महामारी, मानसिक तनाव र जीवनशैलीजन्य रोगको चुनौती सामना गर्न परम्परागत उपचार पद्धति र वैज्ञानिक अनुसन्धानबीच सहकार्य बढाउनुपर्नेमा पनि उनले जोड दिए। साथै विद्यालय, समुदाय र कार्यस्थलमा योग तथा ध्यानलाई प्रोत्साहन गर्न तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दा आयुर्वेदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।