काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तराईका विभिन्न जिल्लामा तातो लहर र अत्यधिक गर्मीको जोखिम बढेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ। विहिबार भैरहवामा ४१ डिग्री र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागले जनाएको छ।
बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीलगायत १४ जिल्लामा मध्यम तातो लहरको जोखिम रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागले चर्को घाममा बाहिर ननिस्किन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न, हल्का सुतीका कपडा लगाउन र स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न सुझाव दिएको छ। तातो लहरका कारण थकान, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा मांसपेशी दुख्नेजस्ता समस्या देखिन सक्ने जनाइएको छ।