काठमाडौँ । दूषित खाद्यवस्तुका कारण हुने रोगबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेको तथ्याङ्कले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगको कुल भारमध्ये करिब ४० प्रतिशत हिस्सा पाँच वर्षमुनिका बालबालिकाले वहन गर्छन् भने हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु यस्ता रोगका कारण हुने गरेको छ।
विश्व खाद्य सुरक्षा दिवसका अवसरमा सार्वजनिक सन्देशहरूमा विशेषज्ञहरूले बालबालिकालाई दिइने खाना, दूध, पानी तथा पूरक आहारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। उनीहरूका अनुसार दूषित खाना वा पानीका कारण झाडापखाला, टाइफाइड, हेपाटाइटिस, आन्द्रासम्बन्धी संक्रमण तथा कुपोषणको जोखिम बढ्ने गर्छ।
खाद्य सुरक्षा विज्ञहरूका अनुसार घरमै खाना पकाउँदा हात सफा राख्ने, काँचो र पाकेको खाना छुट्टाछुट्टै राख्ने, सुरक्षित पानी प्रयोग गर्ने तथा खानालाई उचित तापक्रममा पकाउने र भण्डारण गर्ने बानीले अधिकांश खाद्यजन्य रोग रोक्न सकिन्छ।
यस वर्ष विश्व खाद्य सुरक्षा दिवस “खाद्य सुरक्षा सबैको जिम्मेवारी” भन्ने नारासहित मनाइँदै छ। दिवसले खाद्यजन्य रोगको भार घटाउन विज्ञान, तथ्याङ्क र प्रमाणमा आधारित उपाय अवलम्बन गर्न विश्व समुदायलाई आह्वान गरेको छ।