काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको नियन्त्रणका लागि आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए।
विश्व खाद्य सुरक्षा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुरक्षित खानपानको सुनिश्चिततामार्फत जनस्वास्थ्य सुधार गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गरे। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयन, खाद्य परीक्षण प्रयोगशालाको सुदृढीकरण, जोखिममा आधारित बजार अनुगमन तथा नीतिगत सुधारलाई प्राथमिकता दिइने उनले बताए।
मन्त्री मेहताले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा उचित भण्डारण प्रणाली अवलम्बन गरेर खाद्य सुरक्षालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार यस्ता अभ्यासले गुणस्तरीय खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सहयोग पुर्याउँछ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०का अनुसार दूषित खाद्यवस्तुका कारण हरेक वर्ष विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ। आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने नारासहित विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ।