काठमाडौं । लामो समयदेखि रोकिएको स्वास्थ्य बिमा रकम भुक्तानीमा सरकारले तीव्रता दिएको छ । स्वास्थ्य बिमा बोर्डले पछिल्लोपटक २१७ भन्दा बढी सेवा प्रदायक स्वास्थ्य संस्थालाई रु १ अर्ब ३ करोडभन्दा बढी रकम भुक्तानी गरेको जनाएको छ। यससँगै विपन्न नागरिकको डायलाइसिस, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरीलगायत उपचारबापतको शोधभर्ना रकमसमेत अस्पतालहरूमा पठाइएको छ। बोर्डले कागजात पूरा भएका दाबीहरूलाई प्राथमिकता दिएर भुक्तानी गरिरहेको जनाएको छ।
स्वास्थ्य बिमा भुक्तानी प्रक्रिया अघि बढे पनि बोर्डमाथि ठूलो वित्तीय दायित्व भने कायम छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थालाई दिनुपर्ने १८ अर्ब रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन बाँकी रहेको छ। विगतमा स्रोत अभावका कारण अस्पतालहरूले बिमा सेवामा समस्या आएको गुनासो गर्दै आएका थिए।
स्वास्थ्य बिमा कार्यक्रम आर्थिक संकटमा परेपछि सरकारले विभिन्न कार्यक्रमबाट बजेट रकमान्तर गर्दै बोर्डलाई रकम उपलब्ध गराएको थियो। हाल सरकारले बिमा कार्यक्रमको दिगोपनाका लागि थप स्रोत व्यवस्थापन, दाबी प्रमाणीकरणमा कडाइ र अस्पताल अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।