काठमाडौँ । नेपालमा फैलिएको बर्डफ्लु रोग नियन्त्रण तथा थप फैलिन नदिन सरकारले आकस्मिक नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकाका कीर्तिपुर, गोकर्णेश्वर, सूर्यविनायक र गोदावरीलगायत क्षेत्रमा संक्रमण देखिएपछि निगरानी तथा जैविक सुरक्षा उपाय कडाइ गरिएको छ।
केही साताअघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु महोत्तरी, बारा र चितवन हुँदै काठमाडौँ उपत्यकासम्म फैलिएको हो। पशुसेवा विभागले संक्रमित क्षेत्रका फार्म पुनः सञ्चालन गर्न कम्तीमा दुई महिना कुर्नुपर्ने जनाएको छ। विभागका अनुसार बर्डफ्लुको कुनै उपचार नभएकाले संक्रमण देखिनासाथ तत्काल नियन्त्रण गर्नु नै रोग रोकथामको प्रभावकारी उपाय हो।
हालसम्म १० जिल्लाका ७२ वटा फार्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका क्रममा करिब ५ लाख १५ हजार पन्छी, ७ लाख अण्डा र १८३ टन दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ। प्रभावित किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ।