महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएको दुई साताभन्दा बढी भएको छ। कुकुर, स्याल तथा अन्य जनावरले टोकेपछि तत्काल आवश्यक पर्ने खोप नपाउँदा सेवाग्राही प्रभावित बनेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुनुपर्ने खोप हाल मौज्दात छैन। यद्यपि, निजी स्वास्थ्य संस्थामा भने खोप उपलब्ध रहेको उनले बताए।
स्वास्थ्य सेवा विभागबाट खोप आपूर्ति हुन नसकेपछि प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरेको छ। विभागले खोप आपूर्तिमा अझै केही समय लाग्न सक्ने जनाएको छ।