धनगढी । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले अब धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बाट पनि कोष अन्तर्गतको उपचार सुविधा प्राप्त गर्न सक्ने भएका छन्। यससँगै सुदूरपश्चिमका हजारौं श्रमिक तथा उनीहरूका परिवारले गुणस्तरीय स्वास्थ्य सेवासँगै सामाजिक सुरक्षा कोषको उपचार सुविधा सहज रूपमा पाउने अपेक्षा गरिएको छ।
निसर्ग अस्पतालका प्रशासन प्रमुख रामप्रसाद ओझाका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताहरूलाई अस्पतालमार्फत उपचार सेवा उपलब्ध गराउन थालिएको छ। यस व्यवस्थाले उपचार खर्चको आर्थिक भार कम गर्दै श्रमिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास गरिएको छ।
सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरिरहेका व्यक्तिहरूले निसर्ग अस्पतालमा उपचार गराउँदा तोकिएको मापदण्डअनुसार उपचार खर्चको ८० प्रतिशत रकम कोषबाट व्यहोर्नेछ भने बाँकी २० प्रतिशत रकम सेवाग्राही स्वयंले तिर्नुपर्ने व्यवस्था रहेको छ।
कोष अन्तर्गतको औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजनामा आबद्ध योगदानकर्ताले वार्षिक अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। उक्त सुविधा लिन योगदानकर्ताले कम्तीमा तीन महिना नियमित रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गरेको हुनुपर्ने व्यवस्था छ। उपचार सेवा लिएपछि चिकित्सकको प्रेस्क्रिप्सन, औषधि तथा उपचारसम्बन्धी सक्कल बिल, सामाजिक सुरक्षा कोषको परिचयपत्रलगायत आवश्यक कागजात पेश गरी दाबी प्रक्रिया पूरा गर्न सकिने अस्पतालले जनाएको छ।
सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षाका अतिरिक्त मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा उपदान सुविधा समेत प्रदान गर्दै आएको छ। मातृत्व सुरक्षा योजनाअन्तर्गत महिला योगदानकर्ताले सुत्केरी हुँदा आर्थिक सहायता प्राप्त गर्ने व्यवस्था छ भने दुर्घटना वा व्यवसायजन्य रोगका कारण प्रभावित श्रमिकलाई उपचार तथा आर्थिक सहयोग उपलब्ध गराइन्छ।
धनगढीमा सञ्चालनमा रहेको १०० शैयाको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले विशेषज्ञ तथा सुपर–स्पेसियालिटी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा अत्याधुनिक आईसीयू, एनआईसीयू, २४सै घण्टा आकस्मिक सेवा, शल्यक्रिया सेवा, प्रसूति तथा स्त्रीरोग सेवा, बालरोग सेवा, हाडजोर्नी तथा मेरुदण्ड उपचार, न्यूरो तथा नसा रोग उपचार, जनरल फिजिसियन तथा क्रिटिकल केयर सेवासहितका सुविधा उपलब्ध छन्।
अस्पताल प्रशासनका अनुसार सामाजिक सुरक्षा कोषको सुविधा प्रभावकारी रूपमा कार्यान्वयन भएपछि श्रमिक वर्गले गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र सुलभ रूपमा प्राप्त गर्नेछन्। उपचार खर्चको ठूलो हिस्सा कोषमार्फत उपलब्ध हुने भएकाले बिरामी तथा परिवारमाथिको आर्थिक भार समेत कम हुने अपेक्षा गरिएको छ।