भरतपुर । चितवनको खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच५एन१) पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ।
पशु सेवा कार्यालय चितवनका अनुसार सङ्क्रमण पुष्टि भएपछि तीन दिन लगाएर कुखुरा, १ हजार ४०५ पेटी अण्डा र १२ टन दाना नष्ट गरिएको हो। प्रभावित फार्मलाई पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको कार्यालयले जनाएको छ।
देशभर बर्डफ्लुको प्रकोप फैलिँदै गएको अवस्थामा हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक तथा घरेलु कुखुरा फार्म प्रभावित भएका छन्। नियन्त्रणका लागि चार लाख ७९ हजारभन्दा बढी चराचुरुङ्गी, लाखौँ अण्डा तथा दाना नष्ट गरिएको सरकारी तथ्यांकले देखाएको छ।
विशेषज्ञहरूले बर्डफ्लु अत्यन्त सङ्क्रामक भएकाले कुखुरा फार्ममा जैविक सुरक्षा (बायोसिक्युरिटी) कडाइका साथ पालना गर्न र अस्वाभाविक रूपमा कुखुरा मर्न थाले तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेका छन्।