भक्तपुर । सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक रोबोटिक सर्जरी सेवा सञ्चालन गर्न भक्तपुर अस्पतालले तयारी थालेको छ। बागमती प्रदेश सरकारले सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको र बोलपत्रसमेत आह्वान भइसकेको जनाएको छ।
रोबोटिक प्रविधिमार्फत विशेषज्ञ चिकित्सकले अत्यन्त सूक्ष्म तथा जटिल शल्यक्रिया गर्न सक्नेछन्। यस प्रविधिले मुटु, पाचन प्रणाली, युरोलोजी तथा क्यान्सरसम्बन्धी शल्यक्रियालाई थप सुरक्षित, प्रभावकारी र कम पीडादायी बनाउने अपेक्षा गरिएको छ।
अस्पतालले रोबोटिक सर्जरीसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि तालिम केन्द्रसमेत स्थापना गर्ने योजना बनाएको छ। सेवा सञ्चालनमा आएपछि सरकारी अस्पतालमै विश्वस्तरीय उपचार सुलभ रूपमा उपलब्ध हुने विश्वास लिइएको छ।