काठमाडौं । हाडजोर्नी तथा ट्रमा उपचारलाई थप प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बनाउने उद्देश्यले हाडजोर्नी विशेषज्ञ डा। प्रमोद लामिछाने को अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ।
नवगठित सोसाइटीले दुर्घटना, विपद् तथा गम्भीर चोटपटकका बिरामीको उपचारमा विशेषज्ञ चिकित्सकबीच ज्ञान, अनुभव र नवीनतम प्रविधिको आदानप्रदान गर्दै ट्रमा सेवाको विस्तारमा काम गर्ने जनाएको छ। सोसाइटीका संरक्षक वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. रमेशप्रसाद सिंह रहेका छन्।
अध्यक्ष डा. लामिछानेका अनुसार ट्रमा सेन्टरको विकास, अनुसन्धान, जनचेतना अभिवृद्धि, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार तथा नीति निर्माणमा सहयोग गर्ने विषय सोसाइटीको प्राथमिकतामा रहनेछ। साथै कार्यशाला, फेलोसिप कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर र अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको छ।
नेपालमा हाल करिब ९ सय हाडजोर्नी विशेषज्ञ चिकित्सक कार्यरत रहेको र गम्भीर चोटपटकका बिरामीको उपचारमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।