हुम्ला । जिल्ला अस्पताल हुम्लाले किशोरकिशोरीहरूको स्वास्थ्य आवश्यकतालाई लक्षित गर्दै किशोरकिशोरी–मैत्री सेवा सञ्चालनमा ल्याएको छ। बहिरङ्ग सेवाअन्तर्गत सुरु गरिएको यो सेवा ९ देखि १९ वर्ष उमेर समूहका बालबालिकाका लागि लक्षित गरिएको हो।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार सेवाको पहिलो दुई दिनमै १० जनाले सेवा लिएका छन्। सेवामार्फत किशोरकिशोरीलाई रजस्वला व्यवस्थापन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, परिवार नियोजन, गर्भपतन तथा त्यसबाट हुन सक्ने जटिलताबारे परामर्श र आवश्यक स्वास्थ्य सेवा प्रदान गरिनेछ।
अस्पतालले यो सेवाले किशोरकिशोरीमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुका साथै उनीहरूलाई सुरक्षित र गोप्य वातावरणमा परामर्श तथा उपचार सुविधा उपलब्ध गराउने विश्वास लिएको छ।