दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रिएर थन्किएका पाँचवटा हेमोडायलासिस मेसिन मर्मतपछि सञ्चालनमा आएका छन्। यससँगै प्रतिष्ठानका १६ मध्ये १५ वटा डायलासिस मेसिन पूर्ण रूपमा सञ्चालनमा पुगेका छन्।
मेसिन अभावका कारण लामो समय पालो कुर्न बाध्य मिर्गौला रोगीहरूलाई अहिले सहज रूपमा सेवा उपलब्ध हुन थालेको प्रतिष्ठानले जनाएको छ। मेसिन थपिएपछि दैनिक ११ जना थप बिरामीले डायलासिस सेवा पाउन थालेका छन् भने आकस्मिक कक्षमा डायलासिस गराउने बिरामीको सङ्ख्या २२ बाट घटेर ३ मा झरेको छ।
हाल प्रतिष्ठानमा दैनिक तीन सिफ्टमा डायलासिस सेवा सञ्चालन भइरहेको छ, जहाँ हरेक दिन ३३ जना बिरामीले सेवा लिइरहेका छन्। सेवा थप प्रभावकारी बनाउन १८ जना नर्सिङ स्टाफलाई विशेष तालिमसमेत दिइएको प्रतिष्ठानले जनाएको छ।