काठमाडौं । आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित सुरक्षित रगतको महत्व र स्वेच्छिक रक्तदाताको योगदानबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० का अनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रक्त सङ्कलन करिब १९ प्रतिशतले बढेको छ । सन् २०२३ मा सङ्कलित करिब १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी स्वेच्छिक र निःशुल्क रक्तदाताबाट प्राप्त भएको थियो ।
तर अझै पनि कम आय भएका देशमा सुरक्षित रगतको पहुँच चुनौतीपूर्ण रहेको डब्ल्युएचओले जनाएको छ । प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, दुर्घटनाका घाइते, शल्यक्रिया गरिरहेका बिरामी, थालासेमिया र अन्य रक्तसम्बन्धी रोग भएका व्यक्तिहरू रगतको अभावबाट प्रभावित हुने गरेका छन् ।
डब्ल्युएचओले सबै देशलाई नियमित रक्तदान प्रणाली विकास गर्न, रक्त सेवामा लगानी बढाउन र स्वेच्छिक रक्तदातालाई प्रोत्साहन गर्न आग्रह गरेको छ । एक पटकको रक्तदानले धेरै बिरामीको जीवन बचाउन सक्ने भएकाले नियमित रक्तदानलाई स्वास्थ्य सेवाको महत्वपूर्ण आधार मानिएको छ ।