काठमाडौं । सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा देशभर १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको छ ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका १० लाख ३५ हजारभन्दा बढी बालबालिकाको परीक्षण गर्दा ८८ हजार २०५ जनामा शीघ्र कुपोषण भेटिएको हो । प्रदेशगत रूपमा सबैभन्दा बढी कडा कुपोषण मधेश प्रदेशमा देखिएको छ । त्यहाँ ८ हजार ३८० बालबालिका प्रभावित भेटिएका छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार कडा कुपोषण भएका बालबालिकालाई उपचारात्मक खाना तथा आवश्यक परे पोषण पुनःस्थापना केन्द्रमार्फत उपचार गरिँदै आएको छ । सरकारले अब पोषण अवस्थाको नियमित निगरानी गर्ने तयारी गरेको जनाएको छ ।