काठमाडौं । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा तत्काल योग्य, दक्ष र स्वच्छ छविका व्यक्तिलाई नियुक्त गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगको उपाध्यक्ष नियुक्तिमा भइरहेको ढिलाइप्रति गम्भीर आपत्ति जनाएका हुन्। उनले उपाध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म अघि नबढ्दा सरकार विभिन्न स्वार्थ समूहको प्रभावमा परेको अनुभूति भएको उल्लेख गरेका छन्।
डा. केसीले चिकित्सा शिक्षा आयोग स्वास्थ्य तथा चिकित्सा सेवाको गुणस्तर कायम गर्ने महत्वपूर्ण निकाय भएकाले यसको नेतृत्व निष्पक्ष, सक्षम र अनुभव भएको व्यक्तिबाट हुनुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक दल, निजी संस्था वा अन्य स्वार्थ समूहसँग प्रत्यक्ष आबद्ध भएका तथा स्वार्थ बाझिने उम्मेदवारलाई आफूहरूले स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन्।
‘उपाध्यक्ष पदमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई तत्काल नियुक्त गर्नुपर्छ,’ डा. केसीले विज्ञप्तिमा भनेका छन्। उनले आयोगको नेतृत्व चयनमा पारदर्शिता र निष्पक्षता कायम गर्न सरकारको ध्यानाकर्षण गराउँदै माग पूरा नभए पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। डा. केसीले आफूहरू लामो समयदेखि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका लागि संघर्षरत रहेको स्मरण गराउँदै सरकारले यस विषयमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन्।
उनले नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू तथा संसदीय समितिमा बुझाइसकेको जानकारी दिँदै उक्त सुझावमाथि आवश्यक कारबाही अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ। आयोगको प्रभावकारी सञ्चालन र चिकित्सा शिक्षा सुधारका लागि सक्षम नेतृत्व आवश्यक रहेको भन्दै विभिन्न क्षेत्रबाट नियुक्ति प्रक्रिया छिटो टुंग्याउन माग हुँदै आएको छ।