जलेश्वर । गर्मी बढेसँगै महोत्तरी जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ। जिल्लाको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा अहिले दैनिक पाँच जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि पुग्ने गरेका छन्।
अस्पतालका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार अत्यधिक गर्मीका कारण सर्पहरू बासस्थानबाट बाहिर निस्कन थालेपछि खेतबारीमा काम गर्ने तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू बढी जोखिममा परेका छन्। अस्पतालमा आउने अधिकांश बिरामीलाई विषरहित सर्पले टोकेको भए पनि केहीलाई विषालु सर्पले टोकेको पाइएको छ। महोत्तरी क्षेत्रमा करेत र गोमनजस्ता विषालु सर्प तथा ढोरिया र हरहराजस्ता विषरहित सर्प बढी पाइने गरेका छन्।
अस्पतालको तथ्याङ्कअनुसार सर्पदंशका बिरामीको सङ्ख्या पछिल्ला महिनामा बढेको छ। वैशाखमा २३ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेकामा जेठमा यो सङ्ख्या बढेर ५६ पुगेको छ। महोत्तरीका सबै स्थानीय तहमा गर्मीयाममा सर्पको जोखिम रहने गरेको छ। सीमावर्ती क्षेत्र भएकाले भारतका विभिन्न स्थानबाट समेत सर्पदंशका बिरामी उपचारका लागि जलेश्वर आउने गरेका छन्।
अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनम औषधि पर्याप्त रहेको जनाएको छ। तर विषालु सर्पले टोकेर गम्भीर अवस्थामा आउने बिरामीलाई आइसियु सुविधा अभावका कारण थप उपचारका लागि अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।