काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै विभिन्न स्वास्थ्य परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त पदमा योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो। सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव तथा नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।
त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि पनि आवेदन माग गरिएको छ। मन्त्रालयले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदमा समेत नियुक्तिका लागि प्रक्रिया अघि बढाएको जनाएको छ। सम्बन्धित ऐन तथा नियमावलीअनुसार तोकिएको शैक्षिक योग्यता, अनुभव र अन्य मापदण्ड पूरा गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन बुझाउन आग्रह गरेको छ। रिक्त पदमा पदाधिकारी नियुक्त भएपछि स्वास्थ्य परिषद्हरूको नियमन, स्वास्थ्य अनुसन्धान, स्वास्थ्य बीमा व्यवस्थापन तथा विशेषज्ञ स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।
