काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्च अधिकारी तथा नेपालका लागि जर्मनीका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्री मेहतासँग जर्मनी सरकारको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) अन्तर्गत दक्षिण एसिया विभागकी प्रमुख तथा विकास प्रमुख बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले भेट गरेका हुन्।
भेटमा जर्मन विकास साझेदार संस्था केएफडब्ल्यू विकास बैंक, जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेड) तथा भौतिक–प्राविधिक संघीय संस्थान (पीटीबी) नेपालका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। छलफलका क्रममा नेपाल–जर्मनीबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामा भइरहेको सहकार्यबारे चर्चा भएको थियो।
मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारले गर्दै आएको सहयोग र साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै विकास साझेदारको सहयोगले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको बताईन्।
भेटमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति प्रतिबद्धता दोहोर्याउँदै स्वास्थ्य लगायत सरकारका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा पनि सहयोग र साझेदारी निरन्तर रहने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ।