काठमाडौं । औषधि व्यवस्था विभाग ले तोकिएको अवधिभित्र नवीकरण नगरिएका तथा नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी गराएको छ।
विभागले सोमबार प्रकाशित गरेको सूचनाअनुसार औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधन बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि, नवीकरण र सम्बन्धित अन्य व्यवस्था लागू गरिएको छ।
ऐनको दफा ११ को उपदफा (५) अनुसार तोकिएको समयभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार विभागबाट जारी भएका औषधि पसल सञ्चालनसम्बन्धी प्रमाणपत्रमध्ये नवीकरण नगरिएका तथा नवीकरण म्याद समाप्त भएका पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः रद्द गरिएको विभागले जनाएको छ।
विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न तथा औषधि बिक्री–वितरण गर्दा प्रचलित कानुनी व्यवस्था र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
विभागका अनुसार २०८३ साल जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूची