काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा दाबीबापत देशभरका २०२ सेवा प्रदायक अस्पताललाई थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी रहेको दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम व्यवस्थापन गरिरहेको जनाएको छ।
मन्त्रालयका अनुसार यसअघि जेठ महिनामा स्वास्थ्य बिमा दाबीबापत रु १ अर्ब ३ करोड २४ लाख ७७ हजार तथा विपन्न नागरिक औषधि उपचारतर्फ करिब रु ५९ करोड ५० लाखभन्दा बढी रकम भुक्तानी गरिएको थियो। बोर्डले विगतदेखि बाँकी रहेका दाबी रकम क्रमशः भुक्तानी गर्दै सेवा प्रदायक अस्पतालको आर्थिक भार कम गर्ने र बिमा सेवा प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।