काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले औषधीको सहज आपूर्ति र मूल्य व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ प्रणाली विकास गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता ले औषधीको मूल्य समायोजन तथा आपूर्ति व्यवस्थापनका लागि एक हप्ताभित्र प्रक्रिया अगाडि बढाउने बताईन्।
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले औषधी अभाव र मूल्यसम्बन्धी समस्या दीर्घकालीन रुपमा समाधान गर्ने गरी मन्त्रालयले काम अघि बढाउने बताईन्। उनका अनुसार अधिकतम खुद्रा मूल्य निर्धारण गरिएका औषधीहरूको लामो समयदेखि मूल्य समायोजन हुन नसक्दा बजारमा समस्या देखिएको छ। अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोधले समेत कतिपय औषधीको उपलब्धतामा असर परेको मन्त्रालयको भनाइ छ।
मन्त्री मेहताले औषधीको मूल्य निर्धारणलाई व्यवस्थित, पारदर्शी र वैज्ञानिक बनाउन स्वचालित प्रणाली आवश्यक रहेको बताईन्। यसबाट उपभोक्ताले उचित मूल्यमा औषधी पाउने र बजारमा हुने असन्तुलन घट्ने अपेक्षा गरिएको छ।
यसैबीच मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। मन्त्री मेहताले स्थानीय तहको जिम्मेवारीमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रुपमा सञ्चालन भएपछि मात्रै विशेषज्ञ सेवा विस्तार गर्दै लैजानुपर्ने बताईन्। स्वास्थ्य बीमालाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री मेहताले बीमा प्रणालीमा देखिएका समस्या समाधान गरी दिगो र जनमैत्री बनाउने गरी सुधारका योजना अघि बढाइएको बताईन्।