काठमाडौँ । तौल घटाउने नाममा अपनाइएको अत्यन्तै कठोर र अस्वस्थ डाइटिङ शैलीका कारण चीनकी एक २५ वर्षीया महिला गम्भीर बिरामी परेकी छन्। लामो समय कम खाना खाने र एकैपटक धेरै खाने बानीका कारण उनलाई तीव्र प्यान्क्रियाटाइटिस (Acute Pancreatitis) भएको चिकित्सकहरूले बताएका छन्।
पूर्वी चीनको झेजियाङ प्रान्तको हाङ्झाउ सहरकी क्विङक्विङ (परिवर्तित नाम) ले केही महिनादेखि छिटो तौल घटाउने उद्देश्यले अनौठो डाइट योजना अपनाउँदै आएकी थिइन्। उनी हप्ताको ६ दिन दैनिक करिब ८०० क्यालोरी मात्र सेवन गर्थिन्। उनको खानामा उमालेका तरकारी, कुखुराको छातीको मासु र कम चिनी भएका फलफूल मात्र हुन्थे।
तर सातौँ दिनलाई उनले ‘फ्री इटिङ डे’ बनाएकी थिइन्। उक्त दिन उनी फ्राइड चिकेन, हटपट, मसालेदार नुडल्स, मिल्क टी र अन्य बढी बोसोयुक्त खानेकुरा धेरै मात्रामा खाने गर्थिन्। यो विधि सुरु गर्नुअघि उनको तौल ५५ केजी थियो। एक महिनामै घटेर ४७.५ केजी पुगेपछि उनी उत्साहित भए पनि मे १४ मा यस्तै धेरै खाने दिनपछि उनको स्वास्थ्य अचानक बिग्रियो।
उनलाई पेट, कम्मर र ढाडमा असह्य दुखाइ हुनुका साथै लगातार बान्ता हुन थाल्यो। अस्पताल पुर्याएपछि परीक्षण गर्दा चिकित्सकहरूले तीव्र प्यान्क्रियाटाइटिस भएको पुष्टि गरे। चिकित्सकहरूका अनुसार लामो समयसम्म अत्यन्तै कम खाना खाँदा शरीरको पाचन प्रणालीको गतिविधि घट्न सक्छ। यस्तो अवस्थामा अचानक धेरै तेल, बोसो र क्यालोरीयुक्त खाना खाँदा प्यान्क्रियाजले अत्यधिक पाचन इन्जाइम उत्पादन गर्न सक्छ, जसले प्यान्क्रियाजमा सूजन र क्षति पुर्याउन सक्छ।
स्वास्थ्य विशेषज्ञहरूले छिटो तौल घटाउने नाममा गरिने अत्यधिक उपवास, क्र्यास डाइट र ‘एक दिन धेरै खाने’ शैली स्वास्थ्यका लागि जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार सुरक्षित तौल घटाउने उपाय भनेको सन्तुलित खाना, नियमित शारीरिक गतिविधि र दीर्घकालीन जीवनशैली परिवर्तन हो।एजेन्सी