काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई स्थानीयस्तरमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित नगर अस्पताल निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रममा महानगरले आफ्नै अस्पताल निर्माणलाई प्राथमिकतामा राख्दै पहिलो चरणका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ।
कार्यवाहक मेयर सुनिता डंगोलले स्वास्थ्य सेवा विस्तार, विपन्न तथा असहाय नागरिकको उपचार पहुँच र आकस्मिक सेवाको सुधारलाई महानगरको मुख्य लक्ष्य बनाइएको बताइन्। महानगरभित्रका स्वास्थ्य संस्थामा गरिब तथा असहायका लागि १० प्रतिशत निःशुल्क उपचार व्यवस्था प्रभावकारी बनाउने र बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ।
बजेटमार्फत महानगरले पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ, ज्येष्ठ नागरिक निमोनिया खोपका लागि १ करोड रुपैयाँ र स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापनाका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ।
क्यान्सरजस्ता गम्भीर रोगको प्रारम्भिक पहिचान तथा उपचार सहजीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ भने टोल–टोलमा योग कार्यक्रम र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइने महानगरले जनाएको छ।महानगरको यो योजनाले काठमाडौंमा स्थानीय तहबाटै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।