काठमाडौं । वर्षायाम सुरु भएसँगै देशभर सरुवा तथा मौसमजन्य रोगका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो निगरानी तथ्यांकअनुसार एक सातामै विभिन्न रोगका १ हजार ८१५ बिरामी रिपोर्ट भएका छन्।
तथ्यांकअनुसार सबैभन्दा धेरै तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का ८६१ जना बिरामी भेटिएका छन्। त्यस्तै इन्फ्लुएन्जा जस्तो लक्षण भएका ४४२ जना र गम्भीर श्वासप्रश्वास संक्रमणका ४१३ जना बिरामी दर्ता भएका छन्।
सो अवधिमा डेंगुका ५५, र्याससहितको ज्वरोका १६ र स्क्रब टाइफसका ११ बिरामी समेत भेटिएका छन्। झाडापखालाका बिरामी बागमती प्रदेशमा सबैभन्दा बढी देखिएका छन् भने डेंगु संक्रमण पनि विभिन्न प्रदेशमा फैलिरहेको छ। स्वास्थ्यकर्मीहरूले वर्षायाममा दूषित पानी, अस्वस्थ खानपान र लामखुट्टेको जोखिम बढ्ने भएकाले सरसफाइ, सुरक्षित पानीको प्रयोग र रोग नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन्।