काठमाडौं । गर्मी बढेसँगै बालबालिकामा विभिन्न छालासम्बन्धी स्वास्थ्य समस्या देखिन थालेका छन् । अस्पतालहरूमा गर्मीका कारण हुने समस्या लिएर आउने बालबालिकाको संख्या दिनप्रतिदिन बढिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
गर्मी मौसममा विशेषगरी घमौरा, छालामा रातो बिमिरा, घाउ तथा खटिरा जस्ता समस्या बालबालिकामा बढी देखिने गर्छन् । तराई क्षेत्रमा अत्यधिक गर्मी र पसिनाका कारण धेरै बालबालिका घमौराबाट प्रभावित हुने गरेका छन् । चिकित्सकहरूका अनुसार शरीरबाट धेरै पसिना निस्कँदा पसिना बाहिर निकाल्ने ग्रन्थीका नलीहरू बन्द हुन सक्छन् । यसले छालामा मसिना रातो दाना आउने, चिलाउने र जलन हुने समस्या निम्त्याउँछ ।
तराईका बालबालिकामा घमौराको समस्या
तराई क्षेत्रमा गर्मीको प्रभाव बढी हुने भएकाले त्यहाँका धेरै बालबालिकामा घमौराको समस्या देखिने गरेको छ । अत्यधिक तापक्रमका कारण शरीरमा पसिना धेरै आउँदा पसिना निस्कने नली बन्द भएर छालामा साना बिमिरा देखिने गर्छन् ।
विशेषगरी नवजात शिशु र साना बालबालिकामा घमौराको जोखिम बढी हुन्छ । उनीहरूको पसिना ग्रन्थी पूर्णरूपमा विकसित नभइसकेका कारण गर्मी सहन कठिन हुने गर्छ । बाक्लो कपडा लगाउने, शरीर गुम्सिने अवस्था र लामो समय गर्मीमा बस्दा समस्या झन् बढ्न सक्छ ।
घमौराबाट कसरी बच्ने ?
चिकित्सकहरूका अनुसार घमौराबाट बच्न बालबालिकालाई प्रत्यक्ष घामबाट जोगाउनुपर्छ । गर्मीमा बालबालिकालाई:
- पातलो, खुकुलो र सुती कपडा लगाइदिने
- बाक्लो तथा शरीर गुम्सिने कपडा प्रयोग नगर्ने
- चिसो र हावा चल्ने वातावरणमा राख्ने
- शरीर सफा र सुख्खा राख्ने
- अत्यधिक गर्मीमा बाहिरी गतिविधि कम गर्ने
घमौरा देखिएमा सफा कपडा वा रुमाल पानीमा भिजाएर प्रभावित भाग हल्का रूपमा पुछ्ने र छालालाई सुक्न दिने गर्नुपर्छ । घमौरा आएको भाग कोट्याउन दिनु हुँदैन, किनकि कोट्याउँदा संक्रमण भएर घाउ–खटिरा बढ्न सक्छ ।
घरमै हेरचाह गर्दा पनि समस्या कम नभएमा, घाउ पाक्ने, ज्वरो आउने वा छालाको अवस्था बिग्रँदै गएमा स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकहरूले सुझाव दिएका छन् ।