काठमाडौं। अन्तर्राष्ट्रिय योग दिवस (विश्व योग दिवस २०२६) को अवसरमा भोलि असार ७ गते ९जुन २१० आइतबार नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय नारा "Yoga for Healthy Ageing" (स्वस्थ बुढ्यौलीका लागि योग) लाई आत्मसात गर्दै नेपाल सरकार र विभिन्न सरोकारवाला निकायहरूले संयुक्त रूपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेका छन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रतिष्ठान संस्थाहरूले संयुक्त रूपमा आयोजना गर्न लागेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद क्याम्पस, त्रिवि, कीर्तिपुर राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र, बुढानीलकण्ठ जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरू ९काठमाडौं, ललितपुर र भक्तपुर०को संयुक्त आयोजना हुन लागेको विभागका महानिर्देशक डा वासुदेव उपाध्याय बताए ।
उनले यस वर्षको नाराले बढ्दो उमेरसँगै आउने शारीरिक र मानसिक चुनौतीहरूलाई न्यूनीकरण गर्न योगको भूमिकामाथि जोड दिएको बताए। डा उपाध्यायका अनुसार उमेर ढल्किँदै जाँदा मांसपेशी कमजोर हुने, हाडजोर्नी दुख्ने, अनिद्रा र मानसिक तनाव जस्ता समस्याहरू बढ्छन्। नियमित योग, प्राणायाम र ध्यानले ज्येष्ठ नागरिकहरूको कार्यक्षमता बढाउन, मानसिक शान्ति प्रदान गर्न र औषधिमाथिको निर्भरता कम गर्न मद्दत पुर्याउँछ।
विश्व योग दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम असार ४ गतेदेखिनै सम्बन्धित चिकित्सालय क्षेत्रहरूमा विशेष सरसफाई, योगको महत्त्व र ज्येष्ठ नागरिकको स्वास्थ्यमा यसको भूमिकाबारे जनचेतना फैलाउन पत्रकार अन्तरक्रिया कार्यक्रम जस्ता विभिन्न गतिविधिहरू सञ्चालन भएका छन्।
यस दिवसका अवसरमा केन्द्रमा दुईवटा मुख्य सत्रहरू सञ्चालन गरिने आयोजकले जनाएका छन्।
मुख्य कार्यक्रमहरू :
सत्र १ :सामूहिक योग अभ्यास तथा प्रशिक्षण (बिहान ७:३० बजे)
भोलि बिहानै सर्वसाधारण, स्वास्थ्यकर्मी, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूको सहभागितामा बृहत् सामूहिक योग अभ्यास र विशेष प्रशिक्षण सत्र सञ्चालन हुनेछ। यस सत्रमा उमेर ढल्किँदै जाँदा देखिने विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरूलाई योगका माध्यमबाट कसरी व्यवस्थापन र न्यूनीकरण गर्ने भन्नेबारे विज्ञहरूद्वारा व्यावहारिक ज्ञान तथा टिप्स प्रदान गरिनेछ।
सत्र २स् राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता (बिहान १०:०० बजे)
योग अभ्यासको समापन लगत्तै बिहान १० बजे त्रिवि (T.U.) आयुर्वेद क्याम्पसका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक वक्तृत्वकला तथा मूल्याङ्कन कार्यक्रम आयोजना हुनेछ। यस वर्षको मूल नारा “स्वस्थ बुढ्यौलीका लागि योग” विषयमा केन्द्रित रहने यस प्रतियोगिताले युवा पुस्तामा योग, ध्यान र आयुर्वेदप्रतिको प्राज्ञिक चासो र अनुसन्धानमुखी सोच बढाउने विश्वास लिइएको छ।
आयोजकहरूले सम्पूर्ण सर्वसाधारण, योगप्रेमी तथा सञ्चारकर्मीहरूलाई भोलि बिहान ७:३० बजे बुढानीलकण्ठस्थित केन्द्रमा उपस्थित भई कार्यक्रम सफल बनाइदिन हार्दिक अनुरोध गरेका छन्।