काठमाडौँ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ १२औँ अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। योग दिवसको अवसरमा देशभर जनचेतनामूलक कार्यक्रम, सामूहिक योग अभ्यास, ध्यान, प्रवचन तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना भइरहेका छन्।
हरेक वर्ष जुन २१ तारिखमा मनाइने अन्तरराष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा घोषणा गरेपछि सन् २०१५ देखि विश्वभर मनाउन थालिएको हो। योगलाई शारीरिक व्यायाम मात्र नभई मानसिक शान्ति, जीवनशैली सुधार र रोगको रोकथामसँग जोडेर यसको महत्वबारे विश्वभर अभियान सञ्चालन हुँदै आएको छ।
नेपालमा भने योगको अभ्यास प्राचीन समयदेखि नै हुँदै आएको मानिन्छ। ऋषिमुनिको तपोभूमिका रूपमा चिनिएको नेपालमा योग, ध्यान र प्राकृतिक चिकित्साको परम्परा लामो समयदेखि रहेको विज्ञहरू बताउँछन्। पछिल्लो समय आधुनिक जीवनशैली, तनाव, अनिद्रा, मोटोपना, उच्च रक्तचाप तथा मधुमेहजस्ता समस्याका कारण योगप्रति मानिसको आकर्षण बढ्दै गएको छ।
चिकित्सकहरूका अनुसार नियमित योग अभ्यासले शरीरको लचकता बढाउनुका साथै तनाव नियन्त्रण, निद्रामा सुधार, रक्तसञ्चार सन्तुलन र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। विशेषगरी वृद्धावस्थामा हुने शारीरिक कमजोरी, जोर्नीसम्बन्धी समस्या र मानसिक तनाव कम गर्न योग उपयोगी हुन सक्ने विज्ञहरूको भनाइ छ। योग प्रशिक्षकहरूका अनुसार रोग लागेपछि उपचार गर्नुभन्दा दैनिक जीवनमा स्वस्थ बानी विकास गर्नु महत्वपूर्ण हुन्छ। नियमित योग, सन्तुलित आहार र सकारात्मक सोचले स्वस्थ जीवनशैली निर्माण गर्न सहयोग गर्ने उनीहरू बताउँछन्।
नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा समेत मनाउँदै आएको छ। राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै योग दिवसका माध्यमबाट नेपालमा योगसम्बन्धी चेतना विस्तार भइरहेको छ। यस वर्षको अन्तरराष्ट्रिय योग दिवसका अवसरमा काठमाडौँसहित देशका विभिन्न स्थानमा सामूहिक योग अभ्यास र स्वास्थ्य जागरण कार्यक्रम आयोजना गरिएका छन्। कार्यक्रममा योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने र स्वस्थ समाज निर्माणका लागि यसको विस्तार आवश्यक रहेकोमा जोड दिइएको छ।