टीकापुर । लामो समयसम्म रोग पहिचान नहुँदा उपचार र पीडासँग संघर्ष गरेकी टीकापुर–७ की अनुपा चौधरी अहिले सिकलसेल थालासेमियाका बिरामीलाई हौसला दिने अभियन्ता बनेका छन् ।
सानैदेखि बारम्बार बिरामी पर्ने अनुपाले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराए, तर रोग पत्ता लाग्न सकेन । नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुगेपछि मात्र सिकलसेल थालासेमिया भएको पुष्टि भयो र उपचार सुरु भयो ।
सिकलसेलका कारण शरीरका हड्डी, जोर्नी, ढाड, छाती, पेट र हातखुट्टामा असह्य दुखाइ हुने गरेको उनि बताउ छन् । नियमित रगत चढाउनुपर्ने र पटक–पटक अस्पताल जानुपर्ने अवस्थाले परिवारमा समेत तनाव बढेको उनको अनुभव छ । तर रोग थाहा हुँदाहुँदै पनि साथ दिएका श्रीमान्को सहयोगले अनुपाले नयाँ जीवन पाए । अहिले उनि अन्य बिरामीलाई उपचार, मनोबल र सचेतनाका लागि सहयोग गर्दै आएका छन् ।
यस्तै पीडा भोगेका टीकापुरका लालबहादुर चौधरी पनि अहिले सिकलसेल अभियन्ताका रूपमा सक्रिय हुनुहुन्छ । रोग पत्ता लागेपछि साथीभाइबाट विभेद सहनुपरेको र मानसिक तनावका कारण जीवन अन्त्य गर्ने सोचसमेत आएको उनि बताउछन् । पछि सम्हालिएर उनले टीकापुर सिकलसेल समिति गठन गरे । अहिले बिरामीलाई परामर्श दिने, अस्पतालसम्म पुर्याउने र उपचार प्रक्रियामा सहयोग गर्ने काम गर्दै आएका छन् ।
टीकापुरमा गरिएको स्वास्थ्य परीक्षणमा ३०० भन्दा बढी सिकलसेल संक्रमित भेटिएका छन् । तीमध्ये करिब ८० जना सिकलसेल थालासेमियाका बिरामी रहेका छन् । थारू समुदायमा बढी देखिने यो रोगको पहिचान र उपचार सहज बनाउन टीकापुर नगरपालिकाले सिकलसेल स्वास्थ्य केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।