बाजुरा । दुर्गम हिमाली जिल्ला बाजुराबाट जटिल स्वास्थ्य अवस्था भएकी एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ।
जगन्नाथ गाउँपालिका–५ की २३ वर्षीया विपना सार्कीलाई कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो।
स्वास्थ्य परीक्षणका क्रममा जटिलता देखिएपछि जिल्लामै उपचार सम्भव नभएको र विशेषज्ञ सेवा आवश्यक परेकाले सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।सडकमार्गबाट समयमै अस्पताल पुर्याउन कठिन हुने भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धारको व्यवस्था गरिएको हो।
दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी तथा नवजात शिशुको आकस्मिक उपचारमा पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमबाट बाजुरामा मात्रै हालसम्म ४० जना महिला तथा नवजातको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्वास्थ्यकर्मीका अनुसार दुर्गम क्षेत्रमा समयमै अस्पताल पुग्न नसक्दा हुने मातृ तथा शिशु जोखिम घटाउन हवाई उद्धार सेवा महत्वपूर्ण बन्दै गएको छ।