काठमाडौँ । जलनका बिरामीलाई उपचार सेवा सहज बनाउन सरकारले देशभरका अस्पतालमा जलन उपचार युनिट विस्तार गर्न थालेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १४ वटा सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना भइसकेका छन् भने चारवटा प्रादेशिक अस्पतालमा समेत शय्यासहित सेवा सञ्चालनमा आएको छ। कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कोशी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा, पाटन, पोखरा, बीपी कोइराला, राप्तीलगायत अस्पतालमा जलन उपचारका लागि छुट्टै वार्ड व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
जलन उपचारका लागि हालसम्म ३ सयभन्दा बढी स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइएको छ। मन्त्रालयका अनुसार जलनसँगै प्लास्टिक सर्जरी तथा अन्य संवेदनशील उपचार आवश्यक पर्ने भएकाले छुट्टै अस्पतालभन्दा सुविधा सम्पन्न अस्पतालमा युनिट सञ्चालन प्रभावकारी हुने देखिएको छ। सरकारले जलन उपचारलाई १०० दिने प्रतिबद्धतामा समेट्दै प्रदेशस्तरमा उपचार अभावका कारण हुने मृत्यु, अपाङ्गता र दीर्घकालीन समस्यालाई घटाउने लक्ष्य राखेको छ।