काठमाडौँ– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ।
बोर्डको असार ८ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि रुजु तथा स्वीकृत भएको दाबी रकम र अघिल्लो पेश्की फर्छ्यौट गरी कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार रुपैयाँभन्दा बढी रकम सम्बन्धित संस्थाको बैंक खातामा पठाइएको हो।
बोर्डका अनुसार कुल २७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी दाबी रकम रुजु गरिएको थियो। यसमध्ये अघिल्लो वर्ष स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको करिब ४ अर्ब ३६ करोड रुपैयाँ पेश्की रकम समायोजन गरी बाँकी रकम भुक्तानी गरिएको हो।
भुक्तानी प्रक्रियामा स्वीकृत दाबी रकमको २ प्रतिशत कट्टा गरी बाँकी रकम मात्र सम्बन्धित स्वास्थ्य संस्थालाई पठाइएको बोर्डले जनाएको छ। यससँगै आर्थिक वर्ष २०८१/८२ का सबै स्वीकृत दाबी तथा चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मका स्वीकृत दाबी भुक्तानी पूरा भएको छ।
बोर्डका अनुसार ३६४ वटा स्वास्थ्य संस्थाले यो भुक्तानी प्राप्त गरेका छन्। सबैभन्दा बढी रकम भरतपुर अस्पतालले ७ करोड ११ लाख रुपैयाँ पाएको छ। त्यसपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, बाकुलहर रत्ननगर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतले करोडौँ रुपैयाँ प्राप्त गरेका छन्।
बोर्डले लामो समयदेखि रोकिएका दाबी भुक्तानी व्यवस्थापन गरेसँगै सेवा प्रदायक अस्पतालको आर्थिक भार घट्ने र बीमित नागरिकलाई स्वास्थ्य सेवा प्रवाह थप सहज हुने अपेक्षा गरेको छ।