काठमाडौं । औषधि व्यवस्था विभागले श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने सेरोफ्लो रोटाक्याप्स (Salmeterol and Fluticasone Propionate Powder for Inhalation IP) औषधिको नक्कली संस्करण बजारमा भेटिएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।
विभागका अनुसार भारतको सिप्ला लिमिटेडद्वारा उत्पादित उक्त औषधिको नक्कली उत्पादन बिक्री–वितरण भइरहेको पाइएको हो। विभागले चिकित्सक, फार्मेसी, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सक्कली औषधि पहिचान गरेर मात्र प्रयोग तथा बिक्री वितरण गर्न आग्रह गरेको छ।
विभागले सक्कली र नक्कली औषधि छुट्याउने आधारसमेत सार्वजनिक गरेको छ। सक्कली औषधिको प्याकेटमा “Not to be swallowed” पछाडि कालो रङको पूर्णविराम (।) रहेको र उत्पादकको ठेगानामा “Kumrek” पछि comma (,) रहेको उल्लेख छ।
त्यस्तै नक्कली औषधिको प्याकेटमा “Not to be swallowed” पछाडि रातो रङको पूर्णविराम (।) र उत्पादकको ठेगानामा “Kumrek” पछि full stop (.) रहेको विभागले जनाएको छ।
