कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमै कम्तीमा १०० भन्दा बढीको मृत्यु भएको छ भने सयौँ संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार डीआरसीमा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा हालसम्म एक हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ भने २७७ जनाको मृत्यु भएको छ । ३८७ जना उपचाररत छन् र ११५ जना निको भएका छन् ।
प्रभावित क्षेत्रमा परीक्षण, उपचार र सम्पर्क पहिचानमा कठिनाइ देखिएको छ । स्थानीय असुरक्षा, स्वास्थ्यकर्मीमाथिको आक्रमण र जनविश्वासको कमीले नियन्त्रण अभियान प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।यसपटक फैलिएको इबोला दुर्लभ बुन्डिबुग्यो प्रकारको रहेको जनाइएको छ । यो जाइर प्रकारभन्दा फरक भएकाले हालसम्म यसको स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन ।
छिमेकी युगान्डामा समेत संक्रमण देखिएपछि डीआरसी र युगान्डाले सीमापार निगरानी तथा संयुक्त प्रतिक्रिया अभियान सुरु गरेका छन् । डब्ल्यूएचओले थप फैलावटको जोखिम उच्च रहेको चेतावनी दिएको छ । एजेन्सी