टीकापुर। कैलालीको टीकापुरमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको जोखिम देखिएपछि नगरपालिकाले पोषण सुधार अभियानलाई तीव्र बनाएको छ। वैशाखमा गरिएको पोषण लेखाजोखाका क्रममा ७५ बालबालिकामा शीघ्र कुपोषण र २७२ बालबालिकामा मध्यम कुपोषण भेटिएको हो।
नगरपालिकाले १ हजार ८६४ बालबालिकाको पोषण परीक्षण गरेको जनाएको छ। कुपोषित बालबालिकाको पहिचान र उपचारका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर पुनः स्क्रिनिङ सुरु गरिएको छ।
स्वास्थ्य शाखाका अनुसार गर्भावस्थादेखि नै पोषण सुधार, स्तनपान, पूरक आहार र स्थानीय पोषिलो खानेकुराको प्रयोगबारे समुदायमा सचेतना बढाउने काम भइरहेको छ। पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सुधारका लागि परिवारलाई समेत जिम्मेवार बनाउन पालिकाले जोड दिएको छ।
टीकापुरका विभिन्न वडाले सुत्केरी आमालाई पोषण सामग्री वितरणसमेत सुरु गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको वृद्धि र रोग प्रतिरोधात्मक क्षमता विकासका लागि जीवनका पहिलो हजार दिनमा पोषणमा विशेष ध्यान दिन आवश्यक हुन्छ।